अग्रिम टिकट बुकिङ खुलेसँगै दशैंमा घर फर्किन टिकट काट्नेहरुको भीडभाड !

काठमाडौं । दशैंका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएसँगै टिकट लिनेहरुको भीडभाड देखिएको छ ।
दशैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको हो । दसैं मनाउन काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। अग्रिम टिकट खुलेसँगै बसपार्क, कलंकी, कोटेश्वर गौशाला, चाबहिल लगायतका टिकट काट्न पाइने काउन्टर क्षेत्रमा यात्रुको चहलपहल बढेको छ। दसैंका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न खोजिएको छ । बढी भाडा तिर्नुपर्ने, बिचमा ठगिने जोखिम समेत यो समयमा हुने भएकाले प्रहरीले सम्बन्धित काउन्टरबाट मात्रै टिकट लिन सबैलाई आग्रह गरेको छ । नेपाल सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले समेत यात्रुलाई सम्बन्धित काउन्टरबाट टिकट लिएर सुरक्षित र तोकिएको भाडादरमा यात्रा गर्न आग्रह गर्नुभएको छ ।
दशैमा काठमाडौं उपत्यकाबाट १५ लाख जन्मघर फर्किने आँकलनसहित प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर आवश्यक साथ सहयोग गरिरहेको छ । आफू ठगिएको, समस्यामा परेको अनुभूति भएमा प्रहरी सहायता कक्षबाट सहयोग लिनसक्नुहुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




