Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
नेपाल

बार्सिलोना र स्पेनमा झल्कियो नेपाल !

नेपाल फ्रेम

बार्सिलोना । बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा शनिबार नेपाली गीत-संगीतसँगसँगै नेपालका हिमाल, प्राकृतिक सुन्दरता, विविध संस्कृति र नेपालीहरूको आत्मीयताबारे चर्चा भयो ।

बार्सिलोना नगरपालिकाको ‘प्ला कम्युनिटारी’ कार्यक्रमअन्तर्गत नेपाली समुदायले आफ्नो कला, संस्कृति र परम्परा प्रस्तुत गर्ने अवसर पाएको हो । यो कार्यक्रम मार्फत राष्ट्रिय झण्डा बोकेका बालबालिका, विभिन्न जातजातिका परम्परागत पहिरनमा सजिएका नेपालीहरु र नेपाली परिकारका स्टलले विश्वमञ्चमा नेपाललाई चिनाउने काम गरेको छ । अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनको संयोजनमा भएको यही माहोलमा किशोरी लिदिया भुर्तेल भुसालले विदेशी दर्शकलाई विपत्ति र संकटका समाचारबाट मात्रै देशलाई नचिन्न, नेपालका हिमाल, प्राकृतिक सुन्दरता, विविध संस्कृति र नेपालीहरूको आत्मीयता बारे चर्चा गर्नुभएको थियोे । दोस्रो पुस्ताकी एनआरएन लिदियाले नेपालको परिचय विपत्तिका समाचारमा मात्र सीमित नराखी देशको सुन्दरता र सम्भावनालाई पनि विश्वसामु पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा गुरुङ, मगर, नेवार, क्षेत्रीलगायत विभिन्न समुदायका सहभागी परम्परागत पहिरनमा सजिएर उपस्थित हुँदा नेपाली झन्डा बोकेका बालबालिका, सांस्कृतिक नृत्य र नेपाली परिकारका स्टलले नेपाल झल्काएको थियोे ।

मञ्चका अध्यक्ष सूर्यप्रसाद सापकोटाले विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले कार्यक्रमको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन र देशको प्राकृतिक सुन्दरता, हिमाल, पहाड, तराई, ऐतिहासिक तथा धार्मिक स्थल र सांस्कृतिक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई परिचित गराउनु भएको बताउनुभयो ।

स्पेनमा समेत झल्कियो नेपाल

यस्तै, बार्सिलोनामा मात्र होइन, स्पेनको कोस्टा ब्लाङ्का क्षेत्रमा पनि नेपाली समुदायले अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको पहिचान प्रस्तुत गरेको छ। ल’आल्फास डेल पीमा आयोजित १९औँ अन्तर्राष्ट्रिय दिवसमा ३ हजार ५०० भन्दा बढी नेपाली सहभागी भएर राष्ट्रिय झन्डासहित नेपाली कला, संस्कृति र खानपानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाएको थियो। नेपाल समाज एसोसिएसन कोस्टा ब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टा ब्लाङ्काले संयुक्त रूपमा नेपाली खानाका परिकार र सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली समुदायले नेपालको मौलिक पहिचान विश्वमञ्चमा प्रस्तुत गरेको हो ।

यस्ता गतिविधिले नेपाली समुदायबीच सहकार्य बढाउनुका साथै नेपाल र स्पेनबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। Photo: Suresh Gurung

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप