निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताउनुभएको छ । पोखराका अगुवा पर्यटन व्यवसायीसँगको भेटका क्रममा सभामुख अर्यालले देशको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने बताउनुभएको हो ।
‘विदेशबाट रेमिट्यान्स (विप्रेषण) यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ, निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ ।’ सभामुख अर्यालले भन्नुभएको छ । मुलुकको आर्थिक विकाससँगै रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको समेत महत्त्वपूर्ण योगदान रहेको भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने सभामुखको सुझाब रहेको छ । पर्यटनमा नेपालले अथाह सम्भावना बोकेको उल्लेख गर्दै सभामुख अर्यालले विश्व पर्यटन बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । पर्यटन विधेयक अगाडि बढेको जानकारि गराउदै उहाँले कानुन निर्माण प्रकृयामा पर्यटन व्यवसायीलगायत सरोकार पक्षको चासो र सरोकारलाई समेटिने बताउनुभयो ।
कुनै पनि कानुन निर्माण हुँदा सरोकारवाला पक्षले चासो लिनुपर्ने र सरकारले समेत समन्वय गर्नुपर्नेमा सभामुखको जोड रहेको छ । पोखरा पर्यटन परिषद्का तर्फबाट दिगो पर्यटन विकाससँग सम्बन्धित १० बुँदे माग समेटिएको ध्यानाकर्षणपत्र समेत सभामुख अर्यालले बुझ्नुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी पर्यटन व्यवसायीहरूले उठाएका जायज मागको सम्बोधनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




