के हो सराय नाच ? सञ्जालभरी चर्चा !

काठमाडौं । यतिबेला सञ्जालभर सराय नाच: धार्मिक आस्था, वीरताको इतिहास बारे चर्चा भइरहेको छ ।
नेपाली समाजमा दसैँ केवल टीका र जमरामा सीमित छैन। यस पर्वसँग जोडिएका विभिन्न मौलिक संस्कृति, परम्परा र जात्रा पनि उत्तिकै महत्त्वपूर्ण छन्। यस्तै परम्परामध्ये पश्चिम नेपालका पहाडी जिल्लामा विशेष रूपमा मनाइने सराय नाच धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानको अलग्गै प्रतीकका रूपमा परिचित छ।
आखिर कसरी नाचिन्छ, के हो सराय नाच ?
दसैँको टीकापछि पञ्चेबाजा तथा नौमती बाजाको तालमा खुकुरी, खुँडा, तरबार, भाला र ढालजस्ता परम्परागत हतियार प्रदर्शन गर्दै नाचिने सरायले गाउँबस्तीमा छुट्टै रौनक ल्याउँछ। विशेषगरी देवीका मन्दिर, शक्तिपीठ तथा ऐतिहासिक कोटघरमा आयोजना हुने यो नाचमा महिला, पुरुष, युवा तथा वृद्धवृद्धाको सहभागिता रहने गरेको छ। यतिबेला यही सराय नाचको चर्चा सामाजिक सञ्जालभर भइरहेको छ ।
विशेषगरी सराय नाचको मुख्य प्रचलन लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पाइन्छ। अर्घाखाँची, गुल्मी, पाल्पा र प्युठानमा यसको विशेष महत्त्व छ। यस्तै बागलुङ, स्याङ्जा, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलगायतका जिल्लामा पनि विभिन्न रूपमा सराय नाच्ने परम्परा रहेको छ।
सराय नाचको धार्मिक विश्वास
सराय नाच हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँसँगै जोडिएको छ। यसलाई देवी दुर्गा तथा भगवतीको आराधना, दुष्ट शक्तिमाथि सत्यको विजय र विजयादशमीको उत्सवसँग सम्बन्धित परम्पराका रूपमा लिइन्छ। देवीले दैत्य तथा आसुरी शक्तिलाई पराजित गरेको विजयको सम्झनामा सराय नाच्ने परम्परा सुरु भएको, यही कारण सरायमा तरबार, खुँडा, खुकुरी, भाला र ढालजस्ता हतियार प्रदर्शन गरिने बताइन्छ । कतिपय स्थानमा सहभागीहरू गोलो घेरामा उभिएर हतियार जुधाउँदै युद्धको झल्को दिने शैलीमा नाच्छन्। कतिपय स्थानमा मगर समुदायका पुजारीले दसैँअघि नै विशेष पूजा गर्ने तथा सराय नाचको तयारी गर्ने चलन पनि छ।
पुर्खाले जोगाएको संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र स्थानीय पहिचानलाई जीवन्त राख्ने अभियानका रुपमा समेत सराय नाचले निरन्तरता पाउदै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




