शुक्रबार भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबारसम्मै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले शनिबारदेखि देशभरको मौसममा क्रमिक रूपमा सुधार आउने जनाएको छ।
बिहीबार र विशेषगरी शुक्रबार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ । मौसमविद् रोजन लामिछानेले बिहीबारको पूर्वानुमानबारे जानकारी दिँदै शुक्रबार झनै वर्षाको गतिविधि बढ्ने बताउनुभयो । शनिबारदेखि मौसम सफा हुँदै जाने पूर्वानुमान गरिएको छ । पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा बढी वर्षा भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मात्र पानी परेको छ। डडेल्धुरा र कैलाली आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। बिहीबार बिहान इलाम, झापा, सर्लाही, महोत्तरी र धनुषा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
शुक्रबार भने वर्षाको गतिविधि बढ्ने पूर्वानुमान विभागको छ। कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हावाहुरी र चट्याङसहित भारी वर्षाको पूर्वानुमानसहित सतर्कता अपनाउन भनिएको छ । शनिबार रातिदेखि देशभरको मौसम पूर्ण रूपमा सुधार हुने र वर्षा नहुने विभागको अनुमान छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




