अमेरिका बस्ने व्यक्तिको जग्गा किर्ते कागजात मार्फत बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौं । नक्कली जग्गाधनी खडा गरी अमेरिका बस्दै आउनुभएका सुमित अडुकियाको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायीसहित पक्राउ परेका हुन । किर्ते राष्ट्रिय परिचयपत्र बनाउने भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको सीआईबीले जनाएको छ ।
वडाध्यक्ष र मालपोत कर्मचारी समेत प्रहरी फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपमसशेर जबराले काठमाडौँ महानगरपालिका- १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, भूमि प्रशासन (मालपोत) कार्यालय, कलङ्कीका अधिकृत टीकाबहादुर कुवरसहितका कर्मचारी र जग्गा किनबेच मध्यस्थकर्ता २६ वर्षीय मुस्तफा आलम, वकिल चौधरी थानी, लेखापढी व्यवसायी मीनकुमार रोका, राजाराम थापालगायत पक्राउ परेको जानकारी दिनुभयो । केही मालपोत कर्मचारीलाई थुना बाहिर राखेर अनुसन्धान गरिएको र दोषी ठहर भएपछि अदालतमा उपस्थित गराइने बताइएको छ । ती कर्मचारीको नाम गोप्य राखिएको छ ।
जग्गा २०८२ माघमा बिक्री गरिएको थियो । घरधनी सुमित अडुकिया वृद्ध आमाको हेरचाह र विभिन्न घरायसी काममा सघाउने जिम्मेवारी राज सिंहानियालाई दिएर आफू सपरिवार अमेरिका बस्दै आउनु भएकाे थियो । पेशाले उहाँ बैज्ञानिक हुनुहुन्छ । विश्वास गरेर नेपाली नागरिकताको सक्कल प्रति सिंहानियासँगै छाड्नुलभएका उहाँको त्यही नागरिकताको आधारमा अरु कागजात बनाइएको पाइएको छ । दीपक अग्रवालले किनेको जग्गा पुन ४ करोड नाफा लिएर १२ करोडमा बेच्ने क्रममा खरिद गर्न लागेका साथीले अमेरिका फोन गरेपछि घटना बाहिरिएको थियोे ।
अपराध महाशाखा हुँदै सीआईबी पुगेपछि यो घटनाको अनुसन्धान निष्कर्ष नजिक पुगेको छ । जाहेरीका आधारमा सीआईबीले कसुरदारको पहिचान र कारवाही अगाडि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…



