Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
खेल\कला

पर्थमा नेपाल फेस्टिभल, गायक प्रमोद खरेलको गीतमा झुमे दर्शक !

नेपाल फ्रेम

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र उनको परम्परा ब्याण्डले अस्ट्रेलियाको पर्थलाई नेपालमय बनाएको छ । गत शनिबार, अक्टोबर १० मा एनआरएनए पर्थको आयोजनामा भएको नेपाल फेस्टिभलमा हजारौँको उपस्थितिमा नेपाली दर्शकले कन्सर्टको मज्जा लिएका हुन ।

चिसो मौसम र सिमसिमे वर्षाले समेत दर्शकको उत्साहलाई रोक्न सकेन। बरु नेपाली पोसाकमा सजिएका र राष्ट्रिय झण्डा बोकेका दर्शकले कन्सर्टलाई नेपालमय बनाए । प्रमोदका गीतमा झुमिरहेका दर्शक वर्षा सुरु हुँदा झन् उत्साहित हुँदै उफ्रिँदै, नाच्दै र गीतमा रमाएका थिए। कुमारी, सगरमाथा, नेपाली परिकार, भेषभुषा, संस्कार संस्कृतिको सेतु बनेको नेपाल फेस्टिभल गीतसंगीतले माहोलसँगै विशेष बन्यो । पर्थको प्रस्तुतिबाट विशेष अनुभूति गरेको गायक प्रमोद खरेलले बताउनुभएको छ । नेपाल फेस्टिभलमा नेपाली पोसाक र राष्ट्रिय झण्डासहित उपस्थित हजारौँ नेपाली दर्शक देख्दा बेग्लै अनुभूति भएको उहाँले बताउनुभयो ।

गायक प्रमोदले आफ्नो चर्चित गीत ‘हङ्गामा भो’ बाट कन्सर्ट सुरु गरेर ‘झुमा झुम्का वाली’, ‘यो कुरा गोप्य’ ‘कर्णाली सलल’ लगायतका करिब दुई दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिनुभयो । परम्परा ब्याण्डको टोली मंगलबार नेपाल आइपुग्ने र त्यसपछि दसैँका अवसरमा अक्टोबर १९ र २० मा असम टुरमा निस्किने बताइएको छ । तिहारपछि भने प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड पुनः ‘सुरताल म्युजिकल टुर’मा सहभागी हुनेछ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप