नेपाली कांग्रेस र बरमझियाको बाजेको पेडा !

काठमाडौं । अहिले धेरैले भन्दैछन् नेपाली कांग्रेस र बरमझियाको बाजेको पेडा उस्तै-उस्तै हुन । विशेष महाधिवेशनबाट नेतृत्व हत्याएका गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्दैगर्दा १४ औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा पक्ष तल्लो तहका वडा,पालिकासँगै जिल्ला,क्षेत्रीय अधिवेशनमा केन्द्रित छ । यसले पनि कांग्रेस जनलाई अन्योल बनाएको छ । दुबै पक्षले चुनाव चिन्ह रुख र चार तारे झण्डा बोकेर कांग्रेसको १५औँ महाधिवेशनलाई अघि बढाएका छन् ।
गगन र देउवा पक्ष दुबैले आफू आधिकारिक भएको दाबी गर्दैगर्दा फैसला अदालतको कोर्टमा छ । विगतको विशेष महाधिवेशनपछि निर्वाचन आयोग र अदालतले दिएको आधिकारिकता मान्यतालाई सभापति गगन थापा पक्षले बैधानिकताको आधार मानेको छ । यता, देउवा पक्ष विशेष महाधिवेशन पक्षधरले नभइ १५ औँ महाधिवेशन १४ औँ महाधिवेशनका सभापति देउवाले नै गराउनुपर्ने अड्डी कसिरहेको छ । अहिले कांग्रेस भित्र पनि बहस चलिरहेको छ आधिकारिकता कस्ले पाउला, देउवा कि गगन ? यो फैसला कांग्रेस नेताको हातमा छैन । अदालतको फैसला नै आधिकारिक हुनेछ ।
गगनको नेतृत्वमा पुस्तान्तरण र रुपान्तरणसहितको कांग्रेस
गगन थापाको नेतृत्वमा कांग्रेस पुस्तान्तरणसहित रुपान्तरण भएको दाबी गरिदै छ । गगन सर्वस्विकार्य नेता भएको बताइदैगर्दा सभापतिको प्रतिस्पर्धीका रुपमा श्यामकृष्ण खड्गी मैदानमा हुनुहुन्छ । पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने खड्गीले कुनै दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्दा गगनलाई सर्वसहमतिको नेता बनाउने पहल पनि भइरहेको छ । ३ दिनभित्रमा नतिजा सार्वजनिक गर्नेगरि महाधिवेशन अघि बढ्दा ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधि नेता छान्ने अभियानमा जोडिएका छन् । यता, २९७ पदका लागि ८५० उम्मेदवार मैदानमा छन् ।
देउवा पक्ष छुट्टै अधिवेशनमा
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरु अहिले वडासँगै पालिका अधिवेशनमा छन् । स्थानीय पालिकातर्फ ८० प्रतिशत अधिवेशन सकिएको दाबी नेता प्रकाशशरण महतले गर्नुभएको छ । गगनले कांग्रेस फुटाएको, नयाँ घर बनाउने दाबी गर्ने नेता बिमलेन्द्र निधि कांग्रेसको विरासत आफूहरुसँग भएको दाबी गर्दैछन । देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत वडा, नगर र पालिका स्तरका अधिवेशनहरू असोज १५ देखि सञ्चालन गरिरहेको छ। महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गरिदैछ ।
गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा पक्षका नेता नै विभाजित भएर केही नेता गगन थापासँग मिसिएका छन् । केही बेग्लै महाधिवेशन गर्न लागेका छन । चारतारे झण्डा र रुख बोकेर भइरहेका दुई समानान्तर कांग्रेस महाधिवेशनले बरमझियाको बाजेको पेडाको याद दिलाएका छन् । पुरानो स्वादिलो,सुद्ध पेडाको स्वाद लिन परिवार,आफन्तका लागि किन्न भन्दै सप्तरीको बरमझिया पुग्ने धेरै झुक्किन्छन कुन पुरानो कुन असली भन्नेमा । तत्कालीन राजा महेन्द्रको सम्मान पत्र,शालिक राखेर असली दाबी गरिएको एउटा पुरानो पसल त छ तर कुन असली भन्ने प्रष्ट छैन ।
यता, चारतारे झण्डा अनि रुख बोकेर दुईवटा महाधिवेशन भइरहदा कुन असली कांग्रेस भन्ने कन्फ्युजन देखिए झै । आधिकारिक कांग्रेस कुन ? यो फुटले कांग्रेसलाई कहाँ लग्ला ?
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




