दाङको टरिगाउँ विमानस्थल स्तरोन्नति गरेर नियमित सञ्चालनको तयारीमा सरकार

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल स्तरोन्नति र धावनमार्ग विस्तारको तयारीमा सरकार जुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ सहित मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र इन्जिनियर तथा प्राविधिकको टोली स्थलगत अध्ययनका लागि दाङ पुगेसँगै विमानस्तर स्तरोन्नतिले गति पाउने भएको हो ।
सरकारले टरिगाउँ विमानस्थललाई ७२ सिटे विमान नियमित सञ्चालन गर्न सक्ने गरी विकास गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट छुट्याएको छ । बुधबार विमानस्थलको स्थलगत निरीक्षण गरेसँगै मन्त्री पौडेलले नेपालगन्ज विमानस्थलभन्दा उचाइमा रहेकाले प्रतिकूल अवस्था वा अन्य कारणले नेपालगन्ज विमानस्थल सञ्चालनमा समस्या आए टरिगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो । ७२ सिटे जहाजलाई नियमित चलाउने गरी विमानस्थल निर्माण गरिने उहाँले बताउनुभयो । टरिगाउँ विमानस्थलको विकासका लागि राज्यले अहिलेसम्मकै ठूलो रकम छुट्याएको र २५ करोड रुपैयाँबाट पहिलो चरणमा गर्नुपर्ने कामका विषयमा स्थानीयको सुझाव लिइएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्यले समेत टरिगाउँ विमानस्थलको विकास भावनाका आधारमा नभई आवश्यकताका आधारमा अघि बढाइएको बताउनुभएको छ ।
विमानस्थलको धावनमार्गको क्षमता राम्रो रहेको प्रारम्भिक प्राविधिक सुझाव आएको छ । विस्तृत अध्ययनपछि आवश्यक काम अघि बढाइने तयारीमा सरकार रहेको छ । विमानस्थल नियमित सञ्चालन हुँदा दंगाली मात्रै होइन, यससँग जोडिएको करिब १७–१८ लाख जनसंख्या लाभान्वित हुने देखिन्छ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




